![]()
राजविराज । प्रतिनिधीसभाका निबर्तमान सदस्य रंजु ठाकुरले २० बर्षको उमेरमा विवाह गर्ने कानुन अव्यबहारिक रहेको बताएकी छन् ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीले लैङ्गिक हिंसाबिरुद्ध आईतबार आयोजना गरेको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । विश्वका ५ देखि ६ देशमा मात्रै यस्तो व्यवस्था रहेको र जसमा नेपाल पनि एक रहेको उनको भनाई छ ।
नेपालले आफ्नो धरातल नै नबुझी अर्काको कानुन काँपीपेष्ट गरेको ठाकुरले बताइन् । ‘हामी अरुको काँपीपेष्ट चाँडो गरिहाल्छौं आफ्नो धरातल बुझ्दैनौं’ उनले भनिन् ।
मधेशसहित कर्णाली, सुदुर पश्चिम र लुम्बिनी प्रदेश जाँदा कतै २० बर्षको उमेरमा विवाह सम्भव नदेखिएको उनले बताइन् ।
कानुन बनाइएपनि यो कार्यान्वयन हुन नसक्नुले पनि बुझ्नुपर्ने उनको भनाई छ । सार्क राष्ट्रकै भारत, श्रीलंका, पाकिस्तान, माल्दभिस, भुटानमा पनि विवाहको उमेर २० बर्ष नरहेको भन्दै उनले युके, अष्ट्रेलिया र जर्मनीमा पनि १६ बर्ष कायम राखिएको बताइन् ।
उनले बिभिन्न कारणले गर्दा अहिले पनि २० बर्षभन्दा कम उमेरमै विवाह गर्ने समाजमा बाध्यता रहेको बताइन् । ‘कसैलाई ४ जना छोरी छन्, एकै पटक सबैको विवाह गर्न सकिन्न, आर्थिक बोझ पनि हुन्छ’ उनले भनिन्, ‘यस कारण पनि २० बर्ष नपुग्दै छोरीको विवाह गर्ने गरिन्छ ।’
उनले विवाह गर्ने उमेर सम्बन्धी कानुन प्रदेश अनुसार बनाउन सुझाव दिइन् । ‘लुम्बिनीको जनता कुन उमेरमा विवाह गर्छन्, मधेशका कुन उमेरमा विवाह गर्छन, त्यस अनुसारको प्रदेशले नै कानुन बनाउँदा हुन्छ’ उनले भनिन ।












