![]()
राजविराज । सप्तरीमा तीन हजार ८९२ जना अस्थायी मतदाता छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य पदको निर्वाचनमा यी अस्थायी मतदाताले पनि मतदान गर्नेछन् ।
निर्वाचनमा खटिएका विभिन्न क्षेत्रका कर्मचारीहरु अस्थायी मतदाता हुन् । यी मतदाताले समानुपातिक मत मात्रै हाल्न पाउनेछन् ।
स्वास्थ्य क्षेत्रका ७३३ जना, सशस्त्र प्रहरी २९१ जना, स्थानीय सेवाका ९५३ जना, संस्थान तर्फका १५५ जना, संघीय निजामतितर्फका ३९० जना, राष्ट्रिय अनुसन्धानका १९ जना, बैंक/वित्तिय संस्थाका ५६ जना, प्राधिकरणका दुई जना कर्मचारी अस्थायी मतदाता छन् ।
यस्तै, कारागारका ६९ जना कैदीबन्दी, प्रदेश निजामतितर्फका ९४ जना, नेपाली सेनाका २५ जना, नेपाल प्रहरीका ९२ जना, निर्वाचन म्यादी प्रहरीतर्फ ७७८ जना, ट्राफिक प्रहरी दुई जना, अनुदानतर्फका ३ जना र अन्य २३० जना अस्थायी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, सप्तरीले जनाएको छ ।
यी मतदाताहरुले अस्थायी मतदान केन्द्रमा मतदान गर्ने सोमबार निर्वाचन कार्यालयले संचारकर्मीसँग आयोजना गरेको अन्तरकृया कार्यक्रममा जानकारी गराइयो ।
सप्तरीमा दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । एउटा जिल्ला समन्वय समितिमा र अर्को राजविराज कारागारमा राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश जोशीले जानकारी दिए ।












