राजविराज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सुकुम्बासीलाई ऐलानी जग्गा हेरेर बितरण गरिने भएको छ ।
भूमी आयोगका पदाधिकारी, गाउँपालिकाका जनप्रतिनिधीसहित सरोकारबालाबीच सोमबार यस्तो सहमति भएको हो । दलित, सुकुम्बासी, भूमिहिन, अति विपन्न, अव्यवस्थित वस्ती लगायतका भूमिहिनले बसोबास गर्दै आएको ऐलानी जग्गाहरुको आधारमा लालपूर्जा उपलब्ध गराइने भएको छ ।
‘धेरै ठाउँमा दलित, सुकुम्बासी, भूमिहिन, अति विपन्नहरुले ऐलानी जग्गामा घर बनाएका छन्’ गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले भने, ‘विस्तृत छानबन गरी यस्ता व्यक्तिलाई जग्गाको लालपूर्जा उपलब्ध गराइनेछ ।’
सोमबार भूमी आयोगका अध्यक्ष केशव निरौला, जिल्ला भूमी आयोगका अध्यक्ष हरेराम यादव, पालिकाका प्रमुख चौधरी, नापी कार्यालय, सप्तरीका प्रमुखसहित सरोकारबालाबीच यस्तो समझदारी भएको छ । पालिका प्रमुख र आयोगका पदाधिकारीबीच यस्तो सम्झौता भएको अध्यक्ष चौधरीले जानकारी दिए ।