राजविराज । बजार अनुगमनमा खटिएका टोली उपर सप्तरीको कंचनरुप नगरपालिकामा व्यवसायीले आक्रमण गरेका छन् ।
नगरपालिकाको वडा नम्बर ११ सिमरा बजारमा अनुगमन गर्न गएका टोली उपर स्थानीय व्यवसायीले बुधबार दिउँसो आक्रमण गरेका हुन् । चाडको बेलामा अखाद्य तथा म्याद गुज्रेका सामानको अनुगमन गर्न संयुक्त टोली खटिएको थियो ।
अनुगमन टोली आएको थाहा पाए लगत्तै सिमरा चोकमा सहयोगी किराना पसलका संचालक शशी राउत पसल बन्द गरी लुकेका थिए । टोलीका सदस्यले राउतले बन्द गरेर भागेको देखेपछि शंका लागि पसल खोल्न आग्रह गरेका थिए । उनी आउनै नमानेपछि स्थानीयको सहयोगमा पसल संचालकलाई बोलाई पसल खोलाएको र सामान्य चेकजाँच गर्दा म्याद गुज्रेका सामान फेला परेको थियो ।
खाद्य प्रविधि तथा गुण नियंत्रण डिभिजन कार्यालयका प्रमुख सुरेश सिंहका अनुसार मसालाका ५ प्याकेट म्याद गुज्रेका पेप्सी ५ बोतल बरामद भएको थियो । बरामद म्याद गुज्रेका सामान स्थानीयको रोहवरमा नष्ट गर्न लाग्दा विवाद बढेको थियो ।
नागरिक न्यायीक उपभोक्ता मंच सप्तरीका अध्यक्ष रामकुमार यादवका अनुसार कंचनरुप नगरपालिकाकै कंचनपुर बजार र रुपनगर चोकबाट आएका केहि केही व्यवसायीले स्थानीय व्यवसायीलाई उक्साएका थिए ।
विवादका क्रममा व्यवसायीले भारतीय नाकाबाट बिना राजस्वका अवैध सामान प्रशासन तथा प्रहरीले आउन दिने तर हामी साना व्यापारीहरुलाई अनुगमन गरी सामान किन नष्ट गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
आक्रमणमा घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका चालक विरेन्द्र साहबाट गाडीको चाबी खोस्दै उनीमाथि आक्रमण गरेका छन् । अनुगमन टोलीका अन्य सदस्यसँग स्थानीय व्यवसायीले अभद्र व्यबहार गरेको अनुगमन टोलीले सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा समक्ष बताएका छन् ।
आक्रमणपछि विवाद बढ्दै जाँदा स्थानीय प्रहरीले अनुगमन टोलीमा खटिएकालाई स्कटिङ गरी बाहिर निकालेका थिए ।
त्यसअघि अनुगमन टोलीले हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहस्थित कंकालिनी मन्दिर परिसरमा रहेको मिठाई पसलको अनुगमन गरेका थिए । मिठाईमा अत्यधिक मात्रामा अखाद्य रंग प्रयोग गरिएको र अखाद्य आयातित लडु फेला परेकोमा बरामद लडु नष्ट गरी पसलेलाई ५÷५ हजार जरिवाना गरिएको राउतले बताए ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियंत्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योगका कार्यालय सप्तरी, सप्तरी उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मंचका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।