राजविराज । सप्तरीमा मल बिक्री गर्दा तोकिएकोभन्दा प्रति किलो रु १ मात्र नाफा लिन पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सरोकारबालाको बैठकले यस्तो निर्णय गरिएको छ । बैठकले अनुदानको मल बितरण व्यवस्थापन कार्यविधी, २०७७ लाई आधार मानी प्रति किलो रु १ मुनाफा र प्रति किलो रु १ ढुवानी लिई बिक्री गर्न पाउने निर्णय भएको छ । बैठकको म्यान्यूटमा भनिएको छ, ‘तर खुद्रा बिक्री बितरण गर्दा खुद्रा प्रसालाई चानचुनको रु १ मा नबढ्ने गरी रुपान्तरण गरिलिने ।’
सरकारी अनुदान मार्फत प्राप्त मलखाद्य सहकारीहरुले बिक्री बितरण गर्दा अनुचित्त मूल्य लिइरहेको जनगुनासोको आधारमा यो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
अहिले डीएपीको रु २ हजार २६७, यूरियाको रु ८१७ र पोटासको रु १ हजार ६६७ निर्धारण गरिएको छ ।
बैठकले कृत्रिम अभाव, कालोबजारी अस्वभाविक मूल्य वृद्धिजस्ता कार्य हुन नदिन स्थानीय तह र स्थानीय प्रहरी मार्फत नियमित अनुगमन गर्ने र बढी मूल्य लिई बेचेको पाइएमा कानुन बमोजिम कार्वाही गर्ने निर्णय पनि गरिएको छ ।