![]()
राजविराज । जेलबाट भाग्छन्, अनि खुल्ला रुपमा घुम्छन । त्यो पनि चार चक्का गाडीमा । तर, गाडी पनि चोरीकै ।
जेलबाट भागेर चोरीको गाडी चढने एक व्यक्ति सप्तरीबाट समातिएका हुन् । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ नयाँ वस्ती बस्ने २४ बर्षीय बिक्रम भनिने चन्द्रबहादुर पाख्रिन छन् ।
पाख्रिनलाई पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमानगर कंकालिनी नगरपालिका वडा नम्बर १ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
एक होटेल अगाडि बा.८च ९४३० नम्बरको कार रोकीराखेको अवस्थामा भेटिएको थियो । उक्त कार चालकमाथि शंका लाग्दा प्रहरीले गाडीको कागजात र सबारी चालक अनुमति पत्र माग्दा पाख्रिनले देखाउन नसकेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी हेमराज घिमिरेले जानकारी दिए ।
उक्त गाडीको नम्बर प्लेटबारे यातायात कार्यालयसँग विवरण माग्दा इन्जिन र चेसिस नम्बर मेल नखाँदा चोरीको गाडी भएको हुन सक्ने प्रहरीको भनाई छ ।
अहिले पाख्रिनविरुद्ध चोरीको मुद्दामा अनुसन्धान गरिरहेको र अनुसन्धान पश्चात झुम्का कारागार पठाइने घिमिरेले बताए ।
निज व्यक्ति झुम्का कारागारमा लागूऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए । जेनजी आन्दोलनका क्रममा उनी भदौ २४ गते भागेका थिए ।
उनको १७ महिना कैद भुक्तान बाँकी नै रहेको प्रहरीको भनाई छ ।












