![]()
राजविराज । यहाँ समुदायको सक्रिय सहभागितामार्फत क्षयरोग (टिबी) नियन्त्रण तथा न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले ‘टिबी च्याम्पियन क्लब’ गठन गरिएको छ ।
नेपाल सरकार, ग्लोबल फण्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को त्रिपक्षीय साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा सञ्चालित क्षयरोग परियोजना अन्तर्गत तथा बीडव्लुयसएनको साझेदारीमा सप्तरीको तिरहुत गाउँ पालिका–४ स्थित डिमन स्वास्थ चौकीमा यसएन गठन गरिएको हो ।
स्वास्थ चौकी डिमनका प्रमुख आनन्द यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय सप्तरीका क्षयरोग तथा कुष्ठरोग अधिकृत डम्बर लाल यादव प्रमुख अतिथि र तिरहुत गाउँ पालिकाका स्वास्थ्य सह–संयोजक गजेन्द्र यादव विशिष्ट अतिथि थिए ।
कार्यक्रममा बागमती सेवा समाज नेपालका सप्तरी जिल्ला परियोजना संयोजक दुर्गानन्द झाले टिबी च्याम्पियन क्लबको उद्देश्य र भूमिकाबारे जानकारी गराउँदै समुदायमै सम्भावित बिरामीको समयमै पहिचान, परीक्षण तथा उपचारमा पहुँच विस्तार गर्न क्लबले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले क्षयरोगसँग जोडिएको सामाजिक लाञ्छना न्यूनीकरण गर्न पनि समुदायको सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
प्रमुख अतिथि डम्बर लाल यादवले समुदायको सक्रिय सहभागिताबिना क्षयरोग अन्त्य गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न कठिन हुने बताए । उनका अनुसार टिबी च्याम्पियन क्लबले जनचेतना विस्तार, सम्भावित बिरामीको पहिचान तथा उपचारमा सहजीकरण गरेर क्षयरोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउनेछ ।
विशिष्ट अतिथि गजेन्द्र यादवले नगरपालिकाले क्षयरोग नियन्त्रणसम्बन्धी कार्यक्रमलाई आवश्यक समन्वय र सहयोग उपलब्ध गराउँदै समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, क्षयरोगबाट निको भएका व्यक्ति, शिक्षक, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रमपछि सहभागीबीच क्षयरोग नियन्त्रणमा समुदायको भूमिकाबारे अन्तरक्रिया र छलफलसमेत भएको थियो। आयोजकका अनुसार यस्ता समुदाय–आधारित संयन्त्रले सप्तरीमा क्षयरोगको समयमै पहिचान, उपचारमा पहुँच विस्तार तथा सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमको अन्त्यमा स्वास्थ्य चौकी डिवनका प्रमुख आनन्द यादवको अध्यक्षतामा टिबी च्याम्पियन क्लब गठन समेत गरिएको छ । १३ जना सदस्य रहने नवगठित क्लबले समुदायमा क्षयरोगसम्बन्धी जनचेतना फैलाउने, सम्भावित बिरामीलाई परीक्षणका लागि प्रेरित गर्ने तथा उपचाररत बिरामीलाई आवश्यक सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ ।












