![]()
राजविराज । उच्च अदालत जनकपुर, राजविराज इजलासले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ ।
आर्थिक बर्ष २०८२/८३ मा अदालतले लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा टुँग्याएको हो ।
आर्थिक बर्षको अन्तिम दिन बिहीबार अदालतमा आयोजित पत्रकार सम्मेलनमा रजिष्ट्रार लोकनाथ पराजुलीले फछ्र्यौट गर्ने लक्ष्य ६५ प्रतिशत रहेकोमा ६८ दशमलव ८३ प्रतिशत गरिएको बताए ।
आ.ब. २०८२/८२ बाट जिम्मेवारी सरेर आएका एक हजार ९८३ र नयाँ दर्ता भएकामध्ये तीन हमजार ८३३ गरी कुल मुद्दा पाँच हजार ८१६ रहेकोमा चार हजार ३ मुद्दा फछ्र्यौट भएको पराजुलीले जानकारी गराए । उनले अब फैसला हुन बाँकी एक हजार ८१३ रहेको बताए ।
लगतको आधारमा ६८ दशमलव ८३ प्रतिशत फछ्र्यौट भएको जुन लक्ष्यको सय दशमलव ९१ प्रतिशत रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा पराजुलीले फैसला भएका मुद्दामध्ये दुई हजार ७३७ वटाको फैसला तयार भएको र एक हजार २६६ वटाको फैसला लेखन प्रकृयामा रहेको बताए ।
निवेदनतर्फ आ.ब. २०८२/८३ मा परेका ५१५ वटामध्ये सबै फछ्र्यौट भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यस्तै, प्रतिवेदनतर्फ ८९ दशमलव ५५ प्रतिशत फछ्र्यौट भएको पराजुलीले बताए ।
आ.ब. २०८१/८२ बाट जिम्मेवारी सरेर आएका १२१ र नयाँ दर्ता भएका ५२४ प्रतिवेदन गरी ६५१ मध्ये ५८३ वटा फछ्र्यौट भएको उनले जानकारी गराए ।
पत्रकार सम्मेलनमा मुख्य न्यायाधीश सुभाष पौडेलले जेनजी आन्दोलनका कारण दुई महिनासम्म काम गर्न नपाएपनि यत्रो मुद्दा फछ्र्यौट गरिएको बताए । उनले प्रतिनिधी सभा सदस्य निर्वाचनका क्रममा पनि झण्डै एक महिना काम नभएको बताए ।
‘सबै दिन काम भएको भए अझ मुद्दा टुँग्याउनेमा हामी लाग्थ्यौं’ उनले भने, ‘हामी सबै दिनरात काम गरिरहेका छौं ।’












