![]()
जनअधिकार पार्टीले सुनसरी घटनाको चार दिन हुँदा समेत साम्य बनाउन नसक्नु सरकारको नालायीकीपन भएको बताएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा आईतबार राति दुई समुदायबीच भएको विवाद सुल्झाउन भन्दै प्रहरीले चलाएको गोली लागेर दुई व्यक्तिको मृत्यु र नौ जना घाइते भएका छन् ।
घटनापछि सुनसरीसहित कोशी प्रदेशका जिल्ला र मधेश प्रदेश अशान्त, निरन्तर प्रदर्शन हुँदै आएको छ भने यातायात र व्यापार ठप्प भएको भन्दै जनअधिकार पार्टीले सरकार यसमा गम्भीर हुनुपर्नेमा नभएको बताए ।
‘सरकारलाई यो विषयमा गम्भीर बन्नुपर्थ्यो । र, समाधानमा अग्रसरता देखाउनुपर्थ्यो’ पार्टी अध्यक्ष शरदसिंह यादवले भने, ‘यो सरकारको नालायीकीपन हो ।’
यादवले समस्या समाधानका लागि बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नजानुले समस्याप्रति सरकारलाई कुनै मतलव नभएको देखिएको बताए । ‘सरकारका प्रमुख प्रधानमन्त्री स्वयंलाई देशको समस्याप्रति चिन्तित हुनुपर्ने हो’ उनले भने, ‘चार दिन हुँदा समेत समस्या रहिरहनु सरकार गम्भीर बन्न नसक्नुकै परिणाम हो ।’
शान्ति र अमनचयन कायम गर्न अहिलेको आवश्यक्ता भएको भन्दै अध्यक्ष यादवले सबैलाई आपसी एकता, सहिष्णुता कायम राख्न अपील समेत गरेका छन् ।
उनले कप्तानगञ्ज घटनाका दोषीलाई अबिलम्ब पक्राउ गरी कार्वाही गर्न, पीडित परिवारलाई न्याय र क्षतिपूर्ती उपलब्ध गराउँदै घाइते भएकाहरुको उपचार गराउन सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।











