राजविराज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्व राजाको बिषयमा अब कुनै टिकाटिप्पणी नगर्ने बताउँदै आफ्नो पार्टीको एजेन्डा पनि राजसंस्था नरहेको बताएका छन् ।
राजविराजमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै लामो समयसम्म राजा र राजसंस्थाप्रति आस्था र विश्वास राखेर काम गरेपनि अहिले मन चुँडिएको उनले बताए । ‘पछिल्लो समयमा राजा, राज संस्था र राजाको सचिवालयको व्यबहारबाट मेरो मन चुँडिएको छ, भाँचिएको छ’ उनले भने, ‘तथापी त्यो संस्थाप्रतिको मेरो आस्था र विश्वास कायम छ । त्यो संस्था र राजाप्रतिको मायाको कारण अब सबै आरोप प्रत्यारोपबाट मुक्त भएर रहन चाहन्छु ।’
अध्यक्ष थापाले अब राज संस्था आफ्नो पार्टीको एजेन्डा समेत नरहेको बताए ।
प्रमुख राजनीतिक दलका नेताहरुमा चुनाव लडनका निमित्त, सत्तामा पुग्न, सत्तामा पुगेपछि टिक्नका निम्ति बाहिरिय शक्तिहरुको आशिर्वाद र सहयोग हासिल गर्ने आत्मसमर्पणवादी मानसिकता हाबी भएको उनले बताए । ‘यो कारणले पनि देशमा बाहिरिय शक्तिको चलखेल बढेको छ’ उनले भने ।
उनले प्रत्यक्षतर्फ कुनै पनि पार्टीलाई भोट दिएपनि हिन्दु राष्ट्रका लागि एक भोंट आफ्नो पार्टीलाई दिन आग्रह गरे ।