![]()
राजविराज । सप्तरीको पालिकाहरुमा दमकल उपलब्ध गराउन मधेश प्रदेश सरकारसँग माग गरिने भएको छ ।
भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनको क्रममा जिल्ला स्थित पालिकाहरुमा रहेका सवारी साधन लगायत दमकल समेत जली नष्ट भएको हुँदा आगलागी जस्ता विपदजन्य घटनामा आवश्यक परेको बखत प्रयोग नहुँदा ठूलो परिमाणमा जनधनको क्षति हुनसक्ने भएकाले प्रदेश सरकारसँग यो माग गर्ने भएको हो ।
आईतबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले दमकलका लागि प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ ।
पालिकामा रहेका २४ सौं घण्टा दमकल र चालक सहित संचालन गर्न सक्ने अवस्थामा राख्ने र तत्काल प्रतिकार्यमा जुट्न बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।
हाल सुख्खा याम चलिरहेको समयमा आगलागी तथा हावाहुरीबाट विपद् जन्य घटना घटने प्रवल सम्भावना रहेकोले यस्तो घटना हुन नदिन तथा न्यूनिकरण गर्न आवश्यकतानुसार प्रतिकार्य योजना तयार गरी स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय लगायत अन्य सरोकारवालाले पूर्व तयारीका कार्यहरु गर्ने, स्थानीय तहहरुले विपदजन्य घटना (आगालागी, हावाहुरी) को प्रतिकार्यको लागि समन्वयात्मक रुपमा परिचालित हुने, स्थानीय तह तथा सुरक्षा निकाय र सरकारी/गैरसरकारी संघ संस्थाहरुले विपद् प्रतिकार्यका लागि आवश्यक राहत तथा उद्दारका सामाग्रीको मौजुदा विवरण तयार गरी पठाउने निर्णय बैठकमा भएको छ ।
यस्तै, आगलागी, हावाहुरी, चट्याङ जस्ता विपदबाट घटना हुन नदिन रेडक्रस सोसाइटी शाखा कार्यालय, सप्तरी र जिल्ला स्थित गैससले समन्वयात्मक रुपमा सचेतनामूलक सामाग्रीहरु राष्ट्रिय भाषा र स्थानीय भाषामा विभिन्न संचार माध्यमबाट प्रसारण गर्न व्यवस्था मिलाउने, विपद् व्यवस्थापन तथा उद्धार प्रयोजनका लागि जिल्लास्थित सम्पूर्ण पालिकाहरुले खुला क्षेत्र तथा आवश्यक सामाग्रीहरुको व्यवस्थापन गरी तयारी अवस्थामा राख्ने, विपद्को समयमा दमकल तथा एम्बुलेन्स जस्ता सवारी साधान उद्दार गर्ने स्थल सम्म पुग्ने बाटो नभएमा ठुलो जनधनको क्षति हुन सक्ने भएकोले सो बाटोलाई स्थानीय तह स्वयमले वा सम्बन्धित सडक आयोजना / कार्यालयले सवारी साधन जाने योग्य बाटो निर्माण गर्ने व्यवस्था समयमै मिलाउने निर्णय भएको पोखरेलले बताए ।
यस्तै, जिल्लाभित्र विभिन्न निकायहरुले राहत बितरण सम्बन्धी कार्य गर्दा अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर मात्र गर्ने/गराउने, जिल्लाका विभिन्न नगरपालिका/गाउँपालिकाका विभिन्न वडाहरुमा सडकको छेउ तथा घर नजिक रहेको रुख विरुवाहरु हावाहुरीको समयमा घरमाथि तथा विद्युतीय तारमाथि लडी मानवीय क्षति समेत हुन सक्ने प्रवल संभावना रहेको सो रुख विरुवाहरुलाई डिभिजन वन कार्यालय सप्तरीले छापान र लगत मूल्याङकन गरी कटान तथा ढुवान समेतका लागि आवश्यक प्रकृयाको लागि सम्बन्धित पालिकाहरुमा सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।
सप्तकोशी नगरपालिका त्रियुगा नदीमा बाँध निर्माण तथा जाली क्रेटिंग कार्य संचालन गर्ने सम्बन्धमा कोशी टप्पु वन्यजन्तु आरक्ष र मध्यवर्ति क्षेत्र व्यवस्थापन योजनाको अधिनमा रही विपद् व्यवस्थापनसँग सम्बन्धित कार्य मात्र सम्बन्धित संरक्षित क्षेत्र र कार्यालयको प्रत्यक्ष निगरानीमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले तोकेको शर्तहरुको अधिनमा रही डुबान तथा कटान जस्ता विपद्धन्य जोखिमबाट बच्न थप क्षति नहुने गरी सोही स्थानमा रहेका बालुवा, माटो प्रयोग गरी बाँध बाध्न सिफारिस गर्ने, आयोजना संचालन गर्ने निकायहरुले कुनै आयोजनाको कार्य सम्पन्न नगरेका कारणले सडक दुर्घटना लगायत अन्य विपद् अवस्था सृजना हुने भएकोले सडक डिभजन, पूर्वाधार कार्यालय, सघन शहरी तथा भवन निर्माण आयोजना जस्ता कार्यालयले सार्वजनिक निर्माणका कार्यहरु समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै, महुली खोलामा बालुवाको सतह माथि भएको कारण प्रत्येक बर्ष खोलाको पानीको बहाव खोला माथि भई विभिन्न पालिकाहरुमा बाढी पसी ठूलो धनजनको क्षति हुने गरेकोले सोको नियन्त्रणका लागि सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना र जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय एवं सम्बन्धित पालिकाहरुबीच एक आपसमा समन्वय गरी सम्भावित विपद् जोखिम न्यूनकरण गर्ने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।












