राजविराज, ६ मंसिर । सप्तरी–२ प्रतिनिधी सभा सदस्य पदका लागि जारी मतगणना रोकिएको छ । ३९ हजार ८१९ मतको गणना भइसकेपछि जनता समाजवादी पार्टीका नेताहरुले मतपेटिकाको सिल नमिलेको भन्दै विवाद उत्पन्न गरेपछि मतगणना रोकिएको छ ।
जसपाका नेता÷कार्यकर्ताले आफूहरुले टिपेको सिल नम्बर र यहाँ भएको सिल नम्बर नमिलेको आरोप लगाउँदै नाराबाजी गरेपछि गणना रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जसपाका नेता÷कार्यकर्ताले आफ्ना प्रतिनिधी र यहाँ भएको शिलमा फरक परेको दावी गरेका छन् । यो दावी गर्दै नाराबाजी र मतगणनास्थल गेट अगाडि धर्ना बसेपछि गणना रोकिएको छ । जसपाका नेता÷कार्यकर्ताका साथै लोसपाका नेता शम्भु यादव पनि धर्नामा बसेका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले गणना रोकिएको जानकारी गराए । ‘हाम्रो उम्मेदबारका प्रतिनिधी र यहाँ भएको शिलमा शंका छ भन्ने उहाँहरुको कुरा आएको छ’ प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘उहाँहरुले कहाँ यस्तो भयो भन्ने पनि देखाउन सकिरहनुभएको छैन् ।’
‘निर्वाचन आयोगबाट मुख्य निर्वाचन अधिकृतलाई पठाएको ओसी मिलाएर त्यो ओसी र मतपेटिकामा गरेका सिलहरुको भेरिफाई हुने गरेको तर उनीहरुले हामीले टिपेकोमा भेरिफाई हुनुपर्छ भनिरहेका छन्’ थापाले भने ।
प्रमुख जिल्ला अधिकारी थापाले मतगणना रोकेर यस बिषयमा छलफल भइरहेको जानकारी गराए ।
जसपा क्षेत्र नम्बर २ का अध्यक्ष नारायण यादवले शिलबन्दी भेरिफिकेशन नभएसम्मका लागि मतगणना प्रकृया स्थगित गरी पाउँ भन्दै मुख्य निर्वाचन अधिकृतलाई निवेदन समेत दिएका छन् । यादव मतगणना प्रतिनिधी समेत हुन् ।
मंगलबार राति ८ बजेसम्म ३९ हजार ८१९ मतको गणना भएको छ । जसमा १ हजार ९९० मत बदर भएको छ ।
आईतबार भएको निर्वाचनमा क्षेत्र नम्बर २ को कुल ९५ हजार ३९४ मतदातामध्ये ६४ हजार ५६० मत खसेको थियो ।
मंगलबार राति ८ बजेसम्मको परिणाम अनुसार राउतले २१ हजार ६१७ मत प्राप्त गरेका छन् । जसपा अध्यक्ष यादवले १० हजार ८८७ मत प्राप्त गरेका छन् भने लोसपा नेता जयप्रकाश ठाकुरले ४ हजार ४५८ मत प्राप्त गरेका छन् ।
यसअघि प्रदेश सभा सप्तरी क्षेत्र नम्बर २ को क र ख मा जनमत पार्टीकै उम्मेदबार निर्वाचित भइसकेका छन् । पराजित भएकाहरुले जनताले दिएको मतका लागि धन्यवाद दिदैं आभार समेत प्रकट गरिसकेका छन् ।