राजविराज । बाढी आएर सर्वसाधारण डुबे कसरी बचाउने सन्दर्भमा बुधबार सप्तरीको दुई पालिकामा पूर्व अभ्यास गरिएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा पानीमा डुबेकाको उद्धार गर्ने तरिकाबारे पूर्व अभ्यास गरिएको छ । डाक्नेश्वरीमा सशस्त्र प्रहरीको टोलीले र रुपनीमा नेपाली सेनाको टोलीले पूर्व अभ्यास गरेको हो ।
सशस्त्र प्रहरी र नगरपालिका बीच समन्वय, संवाद र उद्धारमा कुनै पनि प्रकारको दुविधा नहोस् भन्ने उदेश्यका साथ डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ स्थित पोखरीमा अभ्यास गरिएको छ ।
डाक्नेश्वरी नगरपालिकाको आयोजनामा भएको विपद प्रतिकार्य अभ्यासमा सशस्त्र प्रहरी बल राजविराज, सशस्त्र प्रहरी बल पातो र डक्नेश्वरी नगरपालिकाको पदाधिकारी तथा कर्मचारीहरुको उपस्तिथि थियो । सशस्त्र प्रहरीको उद्धार टोलीले आगलागी, भुकम्प, बाढीपहिरोबाट हुने जनचेतना अभ्यास गरेका छन् ।
टोलीले परिमार्जित उद्धार तरिकाको प्रयोग र प्रदर्शन, स्वीफ्ट वाटर रेस्क्यु, राफ्ट उद्धार, रबर बोटको फ्लिप रिफ्लिप प्रदर्शन, डोरीबाट उद्धार,बाढीबाट प्रभावित समूदायका पीडितको उद्धार कार्यको प्रदर्शन तथा अभ्यास गरे ।
कार्यक्रम पश्चात् नगरपालिका मेयर रामलखन मलाहले सिमित श्रोत र साधनका वावजुद सशस्त्र प्रहरीले उद्धार कार्यमा उच्च निपुणता देखाएको र विपद व्यवस्थापनको लागि चाहिने आवश्यक सहयोग गर्न नगरपालिका तत्पर रहेको बताए ।
सशस्त्र प्रहरी नायब उपरीक्षक बाल कृष्ण श्रेष्ठले आगलागी , भुकम्प , डुबान, कटान र नदीमा डुबेको व्यक्तिलाई आफुसंग उपलब्ध साधन श्रोत र उद्धार सामग्रीको प्रयोग गरेर नजिकको सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउने जस्ता अभ्यास गरिएको स्पष्ट पारे ।
यस्तै, रुपनी गाउँपालिका वडा नम्बर २ स्थित कुर्नी पोखरीमा बाढीबाट जनतालाई जोगाउने पूर्व अभ्यास गरिएको छ । नेपाली सेनाको बरख गणद्धारा आयोजित उक्त कार्यक्रममा बाढीको समयमा कुनै व्यक्ति नदीनालामा डुबे कसरी बचाउने, डुँगा डुबे कसरी बचाउने सम्बन्धी पूर्व अभ्यास गरेका हुन् ।
सेनाको टोलीले बाढी तथा पानीमा डुबेकाहरुको उद्धार गरी प्राथमिकताको आधारमा एम्बुलेन्समा राखेर अस्पतालसम्म पु¥याउने प्रकृया देखाएका थिए ।
त्यस अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बाढीको समयमा सुरक्षाकर्मी, जनप्रतिनिधी मिलेर काम गर्नुपर्ने बताए । उनले बाढी आउनु पूर्व नै यस्तो अभ्यास गरिएकाले काम गर्न सहज हुने बताए ।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले सबै मिलेर विपद्को सामना गर्नुपर्ने बताए ।
बरख दल गणका गणपति दुर्गाबहादुर थापाले यस्तो अभ्यास कोशी व्यारेजमा पनि गरिने जानकारी दिए ।