राजविराज । १३ बर्षकी बालिकाको किर्ते जन्म दर्ता बनाएर २१ बर्षीय युवकले विवाह गरेको खुलेको छ । किर्ते जन्म दर्ता बनाएर बालिकाको उमेर २१ बर्ष देखाई युवकले विवाह गरेको पाइएको हो ।
जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ बस्ने मनोज कुमार रामले अग्निसाइर कृष्णसवरण गाउँपालिका ४ बस्ने बविता इसरसँग कानुनी विवाह गरेका हुन् । किर्ते जन्म दर्ता बनाएर रामले इसरसँग कपिलवस्तु जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरेका छन् ।
रामले २१ बर्ष उमेर देखाउँदै बवितासँग विवाह गरेको दावी गरिरहँदा अग्निसाइर कृष्णसवरण गाउँपालिकामा यसअघि गरिएको उनको जन्म दर्ता अनुसार बविताको उमेर १३ बर्ष २ महिना १५ दिन मात्रै देखिएको छ ।
रामले बविताको जन्म २०५८ साल जेठ ११ गते भएको भन्दै जन्म दर्ता बनाएका छन् । यो अनुसार उनको उमेर २१ बर्ष पुग्छ । तर, वडा कार्यालयको रेकर्डमा बविताको जन्म २०६७ साल बैशाख २४ गते भएको भन्दै जन्मदर्ता दिइएको छ । वडा कार्यालयले २०७५ साल बैशाख २५ गते बवितालाई यो जन्म दर्ता दिइएको रहेछ ।
अझ रोचक कुरा के छ भने बविताको आमा बुवाको विवाह भएको मितिभन्दा पहिलाकै मितिमा उनको नक्कली जन्म दर्ता बनाइएको रहेछ । बविताका पिता ललित कुमार इसर र आमा सावित्राको २०६३ साल जेठ १२ गते विवाह भएको रहेछ । तर किर्ते गरी बनाइएको नक्कली जन्म दर्तामा बविताको जन्म २०५८ साल जेठ ११ गते नै उल्लेख गरिएको छ ।
अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेजनारायण यादव, वडाका बर्तमान सचिव रमेश घिमिरे, यसअघिका सचिव प्रबीण कुमार यादवले बविताको उमेर थप गरेर किर्ते नागरिकता बनाएको बताएका छन् । किर्ते जन्म दर्ता बनाउने मनोजका दाजु पर्ने नारायण रामलाई कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यलयमा जाहेरी समेत दिएको वडा अध्यक्ष यादवले बताए ।
वडा कार्यालयको जन्म दर्ता सम्बन्धी ढ्ढा (पुरानो रजिष्टर) मा बविताको नाम उल्लेख गरी अर्काे जन्म दर्ता दिइएको छ ।
बालिकासँग विवाह गर्ने मनोज र उनका दाजु भने अहिले पुर्पक्षका लागि राजविराज कारागारमा छन् । बालिकाका परिवारले दायर गरेको अपहरण तथा शरीर बन्धक मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशमा दुबैलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।
मनोजले गत जेठ २१ गते बवितालाई लिएर कपिलवस्तु पुगी कोर्ट म्यारिज गरेका हुन् । किर्ते जन्म दर्ताकै आधारमा कपिलवस्तु जिल्ला अदालतले दुवैको उमेर २१–२१ वर्ष पुगेको भन्दै विवाह गरेको प्रमाणपत्र दिएको छ ।
उपल्लो जातको केटीसँग बिहे गरेकै कारण जेलमा पठाइएको भन्दै दलित अगुवाहरुले बिरोध गरिरहेका छन् ।
वडा कार्यालयका सहायक देबकान्त चौधरीले नारायण राम नाम गरेका व्यक्ति बविताको जन्म दर्ताको प्रतिलिपी सम्बन्धी निवेदन लिएर आएको र आफूलाई प्रलोभनमा पारी किर्ते जन्म दर्ता बनाउन सफल भएको बताए । ‘मलाई १५ हजार रुपैयाँ दिन्छु भन्ने लोभ देखाए’ उनले भने, ‘प्रलोभनमा परी गलत काम गरे, तर त्यो रकम पनि नदिई उनले जन्म दर्ता लगे ।’