बोदे बर्साइन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लागूऔषधसहित पक्राउ परेको प्रकरणमा थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बोदे बर्साइन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राजनारायण ठाकुरलाई प्रहरीले १५ असोजमा लागूऔषधसहित पक्राउ गरेको थियो । उनलाई केहि दिनअघि हाजिरी जमानीमा छाडिसकिएको छ ।
सोही प्रकरणमा थप अनुसन्धानका लागि अन्य दुई जनालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिकाकै स्वास्थ्य शाखाका सह संयोजक बैद्यनाथ साह र स्थानीय नजामुद्दिन इराकी छन् ।
४५ बर्षीय साह र ३५ बर्षीय इराकी दुबै बोदे बर्साइन नगरपालिका वडा नम्बर ५ का बासिन्दा हुन् ।
लु.५५ प ५४३९ नम्बरको मोटरसाइकलमा सबार भई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका स्वास्थ्य संयोजक ठाकुरलाई बोदे बर्साइन नगरपालिका ५ स्थित शत्रुद्यन चोकबाट पक्राउ गरिएको थियो । उनको साथबाट नाइट्राभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट बरामद भएको थियो ।
सोही प्रकरणमा थप अनुसन्धानका लागि सोमबार दुबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुबै जनाबिरुद्ध सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।