राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लाका जिर्ण सडकहरुको सोमबार निरीक्षण गरेका छन् ।
दाहालले सरोकारबालालाई साथमा लिई छिन्नमस्ता सडक, भारदह–राजविराज, रुपनी–राजविराज सडकको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा सडकहरुको अवस्था जर्जर रहेको पाइएको दाहालले बताए ।
‘सडकहरुका अवस्था जर्जर छ’ उनले भने, ‘निर्माणको ठेक्का लागिसकेपनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काम अघि बढ्न नसकेको देखियो ।’
दाहालले सडक डिभिजन कार्यालय लहानका इन्जिनियर आशुतोष कर्ण, जिबछ यादव तथा निर्माण कम्पनीका संजीब कुमार साहलाई साथै लिएर सडकको निरीक्षण गरेका हुन् ।
त्यस क्रममा प्रमुख जिल्ला अधिकारी दाहालले सडकको मर्मत सम्भार तथा निर्माणलाई तदारुकता दिन सडक डिभिजन कार्यालय र निर्माण कम्पनीका प्रतिनिधीलाई निर्देशन दिए ।
उनीहरुले पनि तत्कालै काम अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
हुन त निर्माण कम्पनीले यसअघिका प्रमुख जिल्ला अधिकारीले बोलाएको बैठकहरुमा काम शुरु गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म पूरा गर्न सकेका छैनन् ।
प्रमुख जिल्ला अधिकारी दाहालले सोमबारै राजविराजस्थित मालपोत तथा नापी कार्यालयको समेत अनुगमन तथा निरीक्षण गरेका छन् । अनुगमनका क्रममा गुनासो नआउने किसिमले इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।