![]()
राजविराज । भ्रष्टाचार नियन्त्रण नभएसम्म देश अघि बढ्न नसक्ने राजविराजमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड् दिएका छन् ।
मधेशी नागरिक समाज, सप्तरीले शनिबार नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको ‘शत्रुताविहीन आचरण, मित्रबत प्रतिष्पर्धा र निर्वाचनको अपरिहार्यता’ बिषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा उच्च बार एशोसिएशन राजविराजका अध्यक्ष हरेराम यादवले भ्रष्टाचार नियन्त्रण नभएसम्म देश अगाडि बढ्न नसक्ने बताए ।
देश अघि बढ्न नसक्नुको प्रमुख कारण भ्रष्टाचार भएको भन्दै उनले यसलाई सबै मिलेर रोक्नुपर्ने बताए ।
‘भ्रष्टाचारलाई छिमेकी मुलुकहरुमा झुण्ड्याइन्छ’ उनले भने, ‘यो मौलिक अधिकार तथा मानवअधिकारबिरुद्ध हुन सक्ने भएकाले आजीवन काराबासको व्यवस्था गर्नुपर्छ ।’
अध्यक्ष यादवले भ्रष्टाचार गरेको प्रमाणित हुने न्यायाधीशलाई समेत काराबासको सजाय दिनुपर्ने भन्दै त्यस्ता न्यायाधीशलाई नियुक्ति गर्ने ब्यक्तिलाई पनि कार्वाहीको दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।
वरिष्ठ अधिवक्ता हेमनारायण चौधरीले भ्रष्टाचार गर्ने जनप्रतिनिधिसहित सबैलाई फिर्ता बोलाएर कानुन अनुसारको कार्वाही गर्नुपर्ने बताए ।
भ्रष्टाचारविरुद्धका अभियन्ता राजु जयसवालले भ्रष्टाचारीलाई मृत्यु दण्ड दिने प्रावधान ल्याउनुपर्ने बताए । उनले यस्तो कानुन नल्याएसम्म भ्रष्टाचार नियन्त्रण हुन नसक्ने बताए ।












