मधेश सम्वाददाता
राजविराज, २० भदौ ।
दुई दिवसीय कार्यक्रमको आयोजना गर्दै सप्तरीमा निजामति दिवस मनाइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा बसेको बैठकले दुई दिवसीय कार्यक्रमको आयोजना गरी निजामति दिवस मनाइने निर्णय गरेको हो । निर्णय अनुसार मंगलबार (आज) सबै सरकारी कार्यालयमा सरसफाइ गरिनेछ ।
बुधबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका विरामीलाई विहान ८ बजे फलफूल वितरण गर्ने र सोही दिन साँझ ७ बजे सबै सरकारी कार्यालयमा दिपावली गर्ने छलफलबाट निर्णय गरिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, सप्तरीका अध्यक्ष अजयकुमार झाले जानकारी दिए ।
छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, सप्तरीका अध्यक्ष झा, नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष महेशकुमार यादव, राजविराज कारागारका प्रमुख किशोरकुमार रामसहितको उपस्थिति थियो ।