मधेश सम्वाददाता
राजविराज, २० भदौ ।
अब कर्मचारीको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाइने भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले २० भदौदेखि कर्मचारीको नियुक्ति, सरुवा, बढुवा गर्न नपाइने भनेर भदौ २ गते नै निर्देशन दिइसकेको थियो । सोही निर्देशन अनुसार सरकारले अब कर्मचारीको सरुवा, बढुवा, नियुक्ति गर्न नपाउने भएको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारलाई १८ दिनको समय दिइएको थियो । आयोगले यसअघि नै निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लाहरूमा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ ।
कर्मचारीलाई निर्वाचन प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लाहरूमा सो कमिटीको पनि व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताए ।
निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ ।