![]()
राजविराज । सप्तरीका नदी तथा खोलाहरुमा थुप्रिएको बालुवा व्यवस्थापन गरिने भएको छ ।
जिल्लास्थित खाँडो, महुली र बलान खोलामा बालुवा थुप्रेको कारण बर्षातको समयमा बाढी आउँदा पानीको बहाव माथिलो सतहसम्म पुगी विभिन्न पालिकाहरुमा बाढी पसेर ठुलो धनजनको क्षति हुने गरेकोले बालुवा व्यवस्थापन गरिने भएको हो ।
नदी/खोलामा थुप्रिएको बालुवा व्यवस्थापनका लागि सम्बन्धित कार्यालयहरुले स्थानीय तहसँग समन्वय गर्ने निर्णय मंगलबारको विपद् व्यवस्थापन समितिको बैठकले गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले तीन वटा काम आकस्मिक रुपमा गर्ने निर्णय गरेको छ ।
राजबिराज भन्सार कार्यालय नजिकै रहेको २ वटा स्ल्याप कल्भर्ट पूर्ण रुपमा क्षति भई सडक आवागमनमा अबरुद्ध भएकोले तत्काल इमर्जेन्सीमा मर्मत संभार गरी सडक सुचारु राख्न सडक डिभिजन लहानलाई निर्देशन दिने निर्णय गरेको छ ।
यस्तै, रुपनी–राजविराज छिन्नमस्ता अन्तर्गत कट्टी बिष्णुपुर–सखडा–न्यौर बोर्डर तथा राजविराज–हनुमाननगर–भारदह सडक खण्डलाई तत्काल इमर्जेन्सीमा मर्मत संभार गरी सडक सुचारु गर्न सडक डिभिजन लहानलाई निर्देशन बैठकले दिएको छ ।
रुपनी–राजविराज छिन्नमस्ता अन्तर्गत कट्टी बिष्णुपुर–सखडा–न्यौर बोर्डरको सडकमा हिलामय भई दैनिक दुर्घटना बढ्दै गएकोबारे बैठकमा छलफल भएको थियो ।
सडक डिभजन लहानको कार्यक्षेत्र अन्तर्गत पर्ने यी सडकहरुलाई अबिलम्ब मर्मत सम्भार गर्न निर्देशन दिइएको हो ।
खाडो नदीबाट हुने कटान डुबानबाट बस्ती, जंगल, नर्सरीको संरक्षणको लागि संघ र प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरेको बैठकले बाढीजन्य क्षति न्यूनिकरण गर्ने प्रयोजनार्थ डिभिजन कार्यालय तथा जलस्रोत तथा सिंचाई व्यवस्थापन आयोजनाले जियो ब्याग, प्लाष्टिक बोरा र नाइलन जाली आवश्यक परेको बखत उपलब्ध हुने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
यस्तै, विपद्को समयमा खोज तथा उद्धार कार्यमा प्रयोग हुने उपकरण, उद्धार सामग्री तयारी अवस्थामा राख्ने, घटना घटेका बखत तत्काल प्रतिकार्यका लागि आवश्यक स्काभेटर, ब्याकहो लोडर, एम्बुलेन्स र औषधी जस्ता साधनहरु सम्बन्धित निकाय तथा सबै स्थानीय तहहरु, स्वास्थ्य संस्था/अस्पतालहरुले तयारी अवस्थामा राख्ने, जिल्लामा संचालित विकास निर्माण र बाटोघाटो निर्माणसँग सम्बन्धी कार्य बर्षातको समय आउनुपूर्व यथाशिघ्र सम्पन्न गर्न स्थानीय तहरु र आयोजना संचालन गर्ने सडक सम्बद्ध कार्यालयहरुमा लेखि पठाउने, विपदबाट हुने संकटको सामना गर्न आवश्यक पर्ने राहत तथा उद्दार सामाग्रीहरु नभएका नगरपालिका/गाउँपालिकाले तत्काल खरिद गरी भण्डारण गर्ने, बर्षातको समयमा खोलामा पानिको वहाव बढेर कटान तथा डुवानमा पर्ने नदी तथा खोला नियन्त्रण गर्न स्थानीय तह, खाडो नदी नियन्त्रण आयोजना, कोशी पम्म चन्द्र नहर सिंचाई व्यवस्थापन कार्यालय, जलस्रोत तथा सिंचाई व्यवस्थापन लगायतका कार्यालयहरुले एक आपसमा समन्वय गरी संभावित जोखिमलाई न्यूनिकरण गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।
त्यस्तै, रेडक्रस सोसाइटी शाखा कार्यालय सप्तरी तथा विपद्को क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाले विपदको समयमा गरिव, दलित, विपन्न घर परिवारलाई आवश्यक पर्ने राहत सामाग्री तयारी अवस्था राख्ने, मनसुन पूर्व तयारी प्रतिकार्य योजना २०८२ लाई अद्यावधिक गरी मनसुन पूर्व तयारी प्रतिकार्य योजना–२०८३ यही जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट पारित गर्ने, विगत बर्ष जस्तै यस बर्षमा समेत कंचनरुप नगरपालिका स्थित वडा नं. ३,९,७,११ र १२ सुख्खाग्रस्त क्षेत्र भित्र पर्ने र खानेपानीको समस्या रहेकाले यसबारे सम्बन्धित निकायमा सिफारिस गर्ने, जिल्ला स्थित सबै सरकारी कार्यालयहरुले सम्बन्धित काममको प्रकृतिको आधारमा सम्बन्धित स्थानीयतहरुसँग समन्वय गर्ने, हाल सुख्खा यामको समयमा आगलागी तथा हावाहुरीबाट विपद् जन्य घटना घटने प्रवल सम्भावना रहकोले त्यस्ता घटना हुन नदिन तथा न्यूनिकरणका लागि स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय लगायत अन्य सरोकारवालाले पूर्व तयारीका कार्यहरु गर्ने निर्णय पनि बैठकले गरेको छ ।












