![]()
राजविराज । वैदेशिक रोजगारीमा पठाइदिने नाममा ठगी गरेको आरोपमा सप्तरीका एक युवकसहित चार जना काठमाडौंबाट पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–८ घर भएका ५२ वर्षीय उज्वल कुमार थापा छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका १ बस्दै आएका थापालाई काठमाडौं महानगरपालिका वडा नम्बर ३१ बाट नियन्त्रणामा लिएको प्रहरीले जानकारी दिएको छ ।
उज्वलले हंगेरी र रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ६२ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीको भनाई छ ।
यस्तै, सिन्धुपाल्चोक साँगाचोकगढी गाउँपालिका–२ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ बस्ने २६ वर्षीय निमा तामाङ, महोत्तरी बर्दिबास नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने २४ वर्षीय बिबेक साह र तेह्रथुम लालिगुराँस नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–९ बस्ने ३५ वर्षीय खेम बहादुर बस्नेत समेत पक्राउ परेका छन् ।
पक्राउ मध्ये निमाले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख ८५ हजार रूपैयाँ, बिबेकले जर्जिया, माल्टा लगायतका देशहरू पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ३५ हजार रूपैयाँ र खेम बहादुरले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ मध्ये निमा र बिबेकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने उज्जवल र खेम बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।











