![]()
राजविराज । सप्तरी प्रशासनले कृषकलाई कम मूल्य दिई ठगी गर्ने खरीदकर्तामाथि प्रचलित कानुन बमोजिम कार्वाही गर्ने चेतावनी दिएको छ ।
सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सचेत गराउँदै प्रशासनले यस्तो चेतावनी दिएको हो ।
जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै नेपाल सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिसकेको स्मरण गराएका छन् ।
सूचनामा सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपियाँ तथा मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ८६० रुपियाँ तोकेको उल्लेख छ ।
न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२ मा व्यवस्था भएअनुसार कानुनी प्रावधानको पूर्ण कार्यान्वयन गर्न सबै पक्षलाई आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जारी गरेको सूचनामा भनिएको छ, ‘निर्देशिकाविपरीत कार्य गर्ने वा कृषकलाई कम मूल्य दिई ठगी गर्ने खरीदकर्तामाथि प्रचलित कानुन बमोजिम कडा कार्वाही हुन्छ ।’
पछिल्लो समय केही खरीदकर्ताले सरकारले तोकेको मूल्यभन्दा कम दरमा धान खरीद गरी कृषकहरूलाई मर्कामा पारेको भन्ने जनगुनासो प्राप्त भएको जनाउँदै सूचनामा कृषकहरूलाई बालीको उचित मूल्य सुनिश्चित गर्न तथा धानको बजार मूल्यमा स्थिरता कायम गर्नु जरुरी रहेको उल्लेख गरिएको छ ।
सूचनामा स्थानीय तहले न्यूनतम समर्थन मूल्यबारे जनचेतना फैलाउने, खरीद प्रक्रियामा सहजीकरण गर्ने, अनुगमन गर्ने तथा कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने भनिएको छ ।












