![]()
गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्ट
राजविराज । जनअधिकार पार्टीले गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।
पार्टी अध्यक्ष डा. शरदसिंह यादवले एक भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले यो घटनालाई ट्राफिक व्यवस्थापनको आतंकको संज्ञा दिएका छन् ।
महानगर प्रहरीले मोटरसाइकलमा लक लगाउँदा र जरिवाना तोक्दा नेपालीले आत्मदाह गरेको बताउँदै उनले यो नेपालीका लागि दुःखद घटना भएको उल्लेख गरेका छन् ।
‘अहिले सडकमा ट्राफिक आतंक देखिएको छ, नियम पालना गराउने नाममा सबारी चालक, सवारी धनीलाई दुःख दिने काम गर्दै आएको छ’ उनले भनेका छन् ।
बर्तमान सरकारले अमेरिकाको जस्तो जरिवाना लिन शुरु गरेको बताउँदै उनले यदी यस्तो जरिवाना लिने हो भने अमेरिकाजस्तो व्यवस्थापन गर्दै सडक र पार्किङ्ग पनि दिनुपर्ने बताएका छन् ।
‘महानगर प्रहरीलाई ट्राफिक जिम्मेवारी दिने हो भने ट्राफिक प्रहरीको के काम ?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘त्यसो भए ट्राफिक प्रहरीको संरचनालाई खारेज गरौं ।’
नेपालको माटो अवस्था सुहाउँदो जनताको अवस्था हेरेर कर र जरिवानाको व्यवस्था नगरिए यस्तो घटना घटिरहने बताउँदै उनले पुनः अर्को नागरिकलाई मृत्युवरण गर्नुनपरोस् त्यसका लागि सबै सचेत हुनुपर्ने औंल्याएका छन् ।
नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउँदै जरिवाना तोकिएपछि उनले बिहीबार आत्मदाह प्रयास गरेका थिए । उनको उपचारका क्रममा आज मृत्यु भएको छ ।
पार्टी अध्यक्ष यादवले उनीप्रति हार्दिक श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।












