![]()
राजविराज । सप्तरीमा शान्ति–सुरक्षा, सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्न सरोकारबालाहरु सहमत भएका छन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा झडप हुँदा गोली चलेको घटनापछि सप्तरीमा सद्भाव र भाइचारा कायम राख्न सरोकारबालाहरु सहमत भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
बहुजातीय, बहुभाषिक र बहुधार्मिक पहिचानलाई जोगाउँदै जिल्लाभित्र शान्ति, सुरक्षा, सद्भाव र अमनचयन कायम राख्नु सबैको साझा दायित्व रहेको उल्लेख गर्दै भएको निर्णयमा भनिएको छ, ‘विभिन्न जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायबीच आपसी एकता, सहिष्णुता, सद्भाव र भ्रातृत्व कायम राख्न सबै पक्ष सहमत छौं ।’
यस्तै, बैठकले विभिन्न जिल्लाका घटनालाई आधार बनाएर फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युबलगायत सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने, धर्म, आस्था, संस्कृति वा समुदायप्रति लक्षित घृणात्मक अभिव्यक्ति दिने तथा सामाजिक सद्भाव भड्काउने गतिविधि रोक्न सबै पक्षलाई आग्रह गरिएको छ ।
यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई मुलुकी अपराध संहिता, २०७४, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको बैठकमा बैठकमा राजनीतिक दलका प्रतिनिधि, दुई समुदायबीचका अगुवाहरुको सहभागिता रहेको थियो ।












