![]()
राजविराज । जनअधिकार पार्टीले सुनसरीको देवानगन्ज गाउँपालिका वडा नम्बर ३ कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई अबिलम्ब पक्राउ गरेर कार्वाही गर्न सरकारसँग माग गरेको छ ।
पार्टीका अध्यक्ष शरदसिंह यादवले सोमबार बक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन् । घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै बक्तव्यमा अबिलम्ब छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गर्न उनले माग गरेका छन् ।
घटनामा संलग्न जो कोही भए पनि राजनीतिक वा अन्य कुनै प्रभावमा नपरी कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै अध्यक्ष यादवले यस्ता घटनाले समाजमा असुरक्षा र अविश्वासको वातावरण सिर्जना गर्ने भएकाले सरकारले संवेदनशील ढंगले विषयलाई लिनुपर्नेमा जोड् दिएका छन् ।
घटनापछि कुनै पनि प्रकारका अफवाह, उत्तेजक अभिव्यक्ति वा सामाजिक सद्भाव बिग्रिने गतिविधिमा संलग्न नहुन सबै पक्षसँग आग्रह गर्दै अध्यक्ष यादवले संयमता अपनाउँदै शान्ति, सद्भाव र आपसी भाइचाराको वातावरण कायम राख्न बक्तव्य मार्फत् अपिल गरेका छन् ।
यस्तै, सत्य सनातन मैत्री संघले दोषीलाई अबिलम्ब पक्राउ गरी कार्वाहीको माग गरेको छ ।
संघका अध्यक्ष अनिल कर्ण कायस्थले एक विज्ञप्ती जारी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
धार्मिक आस्था, मन्दिर तथा कुनै पनि समुदायका व्यक्तिलाई लक्षित गरी हिंसा, झडप र अशान्ति फैलाउने कार्य स्वीकार्य नहुने बताउँदै उनले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याई कडा कार्वाही गर्नुपर्ने बताएका छन् ।
समाजमा धार्मिक सद्भाव बिथोल्ने, समुदायबीच द्वेष फैलाउने तथा दंगा भड्काउने आपराधिक मानसिकता बोकेका व्यक्तिहरूलाई कानुनअनुसार सजाय हुनुपर्ने उनको भनाइ छ ।
कायस्थले सबै पक्षलाई संयम अपनाउन, अपुष्ट सूचना वा अफवाह नफैलाउन र आधिकारिक निकायको अनुसन्धानलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।












