![]()
छिन्नमस्ता–६ मा तीन दिनदेखि तालाबन्दी, उपाध्यक्षको सट्टा पति हुन्छन् छलफलमा सहभागी
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ मा तालाबन्दी गरी स्थानीयहरु आन्दोलित भएका छन् ।
वडा कार्यलयमा स्थानीयहरुले सोमबार लगाएको ताला अहिले पनि जारी रहेको छ ।
मल वितरणमा अनियमितता र कालोबजारी भएको, ट्रान्सफर्मर अन्यत्र सारिएको, मर्मत–सम्भार शिर्षकको रकम दुरुपयोग गरिएको तथा विगत चार वर्षको विकासीय बजेटको हिसाब सार्वजनिक गर्नुपर्ने माग स्थानीयले गरेको तालाबन्दी बुधबारसम्म जारी रहेको छ ।
स्थानीय किसानहरुले समयमा रासायनिक मलखाद्य उपलब्ध गराउन नसकेको र यी विषयमा छलफल हुँदा पालिका उपाध्यक्ष राजुदेवीका पति तेजनारायण यादव सहभागी हुँदै राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

तालाबन्दीपछि दिनभरि स्थानीय, जनप्रतिनिधि र सरोकारवालाबीच पटक–पटक वार्ता भएपनि निष्कर्ष निस्किन सकेको छैन् ।
तालाबन्दी लगत्तै सोमबार भएको छलफलमा पनि उपाध्यक्ष राजुदेवी नआई उनका पति तेजनारायण उपस्थित भएका थिए । स्थानीयले मत दिएर जिताइएका उपाध्यक्ष उपस्थित हुनुपर्ने अडान राखेका थिए ।
यसपछि मंगलबार दिउँसो १ बजे छलफलको समय तोकिएको थियो । मंगलबारको छलफलमा उपाध्यक्षका पति तेजनारायणले मल वितरणको कागजात देखाएपनि स्थानीयहरुले फर्जी भएको बताएपछि तेजनारायणले शुक्रबार मलखाद्यको विवरण सार्वजनिक गर्ने प्रतिकृया दिएका छन् ।
यस्तै, वडा अध्यक्ष कपलेश्वर साहले साउन २० गते वडाको हरहिसाब सार्वजनिक गर्ने स्थानीय समक्ष प्रतिबद्धता जनाएका छन् ।
वडा अध्यक्ष साहको कुरालाई मान्ने हो भने खुदिबखारी गाउँको मल वितरण उपाध्यक्षका पति तेजनरायणले आफ्नो निर्देशनमा वितरण गर्दै आएकोले यस्तो समस्या उत्पन्न भएको छ । र, सबै किसानले मल पाउन नसकेका हुन् ।
मल वितरण प्रकृयामा वडा सदस्य गजेन्द्र साहसमेत संलग्न रहेको हाल उनी सम्पर्कविहीन रहेको वडा अध्यक्षको भनाई छ ।
तत्कालीन सखडा गाविसका पूर्व उप प्रधानपंच गोविन्द मण्डल किसानले समयमा मलखाद्य नपाउनु, ट्रान्सफर्मर अन्यत्र सारिनु, मर्मत–सम्भार शीर्षकको रकम खर्च भएको देखाइए पनि काम नगर्नु तथा विगत चार वर्षको बजेट र खर्च सार्वजनिक नगर्नु दुःखद भएको बताउँछन् ।
पालिका अध्यक्षका प्रत्याशीसमेत रहेका कुलानन्द यादवले पालिकाभित्र डीएपी मल कालोबजारीमार्फत रु. ४,००० देखि ४,५०० सम्ममा बिक्री भइरहेको आरोप लगाए ।
स्थानीय सदानन्द साहका अनुसार पालिका अध्यक्ष र उपाध्यक्षको मिलेमतोमा खुदिबखारीस्थित रहेको हाइपावरको ट्रान्सफर्मर अन्यत्र सारिएको छ ।












