राजविराज । प्रकृतिलाई जोगाउन जन्म दिन, वैवाहिक बर्षगाँठसहितका उत्सवमा केक काटिए झैं हरेक व्यक्तिले वृक्ष रोप्नुपर्ने रुख रोप्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड् दिएका छन् ।
पछिल्लो समयमा जंगल र रुख विनाश हुँदै गरेको बताउँदै बक्ताहरुले आफ्नो ज्यान जोगाउन पनि सबैले रुख रोप्दै त्यसको संरक्षण गर्नुपर्ने बताए ।
डिभिजन वन कार्यालय, सप्तरीले आगामी आर्थिक बर्ष २०८०-८१ को प्रस्तावित योजना सम्बन्धी सोमबार राजविराजमा आयोजना गरेको योजना तर्जुमा गोष्ठीमा बोल्दै बक्ताहरुले उक्त कुरा बताएका हुन् ।
उक्त अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साहले रुख रोप्ने बानीको विकास सबैमा हुनुपर्ने बताए । उनले रुखबाट मानिसको प्राण बाँचिरहेको भन्दै कुनै उत्सव मनाउँदा रुख रोप्नुपर्नेमा जोड् दिए ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कुनै उत्सव मनाउँदा बृक्षारोपण गरेर सेलिब्रेट गर्नुपर्नेमा जोड् दिए । उनले रुख रोपिए र वनको संरक्षण भए जलवायु परिवर्तनको असरलाई कम गर्न सकिने बताए ।
प्रमुख जिल्ला अधिकारी थापाले राजमार्गको दुबैपट्टी बृक्षारोपण गर्नुपर्नेमा जोड् दिए ।
डिभिजन वन कार्यालय, सप्तरीका प्रमुख हेमन्त साहले पनि जन्म दिनसहितका उत्सव मनाउँदा केक काट्नुभन्दा पनि बृक्षारोपण गरिए अक्सिजनको कमी नहुने बताए ।
कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले जंगल छेउका खोलानालाबाट अनाधिकृत रुपमा बालुवा, गिट्टीको तस्करी भइरहेको भन्दै यसलाई रोक्नुपर्नेमा जोड् दिए ।
राजविराज नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परबिनले राजविराजको कोर एरियामा बृक्षारोपण गर्न वन कार्यालयले सहयोग गर्नुपर्ने बताइन् ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ सप्तरीका अध्यक्ष अशोक चौधरी, नेपाली सेनाका कर्णेल दुर्गाबहादुर थापा, सेभ द सप्तरीका अध्यक्ष ध्रुब देव, रेडक्रसका सभापति जोगेन्द्र भगतसहितकाले वनको संरक्षण गर्नुपर्नेमा जोड् दिए ।