![]()
गंगा प्रसाद साह
भारदह। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले चालू आ.ब. २०८१/८२ का लागि रु ६७ करोड १४ लाख ७७ हजारको बजेट विनियोजन गरेको छ ।
बुधबार सम्पन्न नगरपालिकाको १४औं नगर सभाले बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमा चालूतर्फ रु ४२ करोड ४६ लाख ११ हजार तथा पूँजिगततर्फ रु २४ करोड ६८ लाख ६६ हजार छुट्टयाइएको छ ।
वडा नम्बर १, ३, ४ १४ लाई रु ८० लाखको बजेट तथा बाँकी १० वडालाई रु ५५ लाखको बजेट विनियोजन गरिएको छ ।
नगर प्रमुख बिरेन्द्र माझीको अध्यक्षतामा भएको नगर सभामा नगर उप प्रमुख सरिता सिपलिया यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।
नगर सभाले नगरपालिकाभित्रको कृषि मिटरको बिल भुक्तानीमा अनुदानका लागि रु १२ लाख बजेट विनियोजन गरेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत किशोर रामले कृषि मिटरको बिल नगरपालिकाले तिर्ने बताए ।
यस्तै, ५० प्रतिशत अनुदानमा पावर स्प्रेयरका लागि रु ३ लाख, खाद्यान्न बालीतर्फ मकैबालीमा ५० प्रतिशत अनुदानमा बिउ बितरुणका लागि रु १३ लाख ५० हजार, उन्नत तथा हाइब्रिड तरकारीको मिनिकीट बिउ निःशुल्क बितरणका लागि रु ५ लाख बजेट विनियोजन गरेको छ ।
चालू आ.ब.को सभा हुन नसक्दा यो नगरपालिकाका कर्मचारीले अझै तलव, भत्ता पाउन सकेका छैनन् । शिक्षक र स्वास्थ्यकर्मीले तलव नपाएको भन्दै केहि दिनअघि नगरपालिकाको मूल गेटमा ताला नै लगाएका थिए ।
त्यसअघि शिक्षकले नगरपालिका अगाडि धर्ना दिएका थिए ।












