राजविराज । सप्तरीस्थित बिभिन्न हिन्दुवादी संघ–संगठनका पदाधिकारीले वीरगंजमा निकालिएको हनुमान जन्मोत्सव शोभायात्रामाथि आक्रमण गर्नेलाई कार्वाहीको माग गरेको छ ।
बुधबार राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, मधेश प्रदेशका मुख्य मन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मार्फत् ज्ञापन पठाउँदै संघ–संगठनका पदाधिकारीले यस्तो माग गरेका हुन् ।
‘वीरगंज, छपकैयामा हनुमान जन्मोत्सवको शान्तिपूर्ण शोभायात्रा माथि भएको ढुंगामुढा सहितको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं’ ज्ञापनमा भनिएको छ, ‘घटनाका कारण स्थानीय भक्तजनहरू घाइते भएका छन् । धार्मिक उत्सवको पवित्रता तथा समुदायको समरसतामाथि गरिएको यो आक्रमण अक्षम्य अपराध हो ।’
नेपालको कानुनले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक आस्था अनुसार धार्मिक अभ्यास गर्ने स्वतन्त्रता प्रदान गरेको भन्दै ज्ञापनमा बहुसंख्यक हिन्दू समुदायले कानुनतः आफ्ना पर्व त्यौहार मनाईरहँदा समेत बारम्बार यस प्रकारको आक्रमण संविधानको मर्म र धार्मिक मूल्यको उल्लंघन भएको भनिएको छ ।
घटनामा संलग्न अपराधीमाथि तुरुन्त र कठोर कारवाही गर्न आग्रह गर्दै अपराधीलाई उन्मुक्ति दिलाउने प्रयास गरिए परिस्थितिले गम्भीर रुप लिने चेतावनी दिइएको छ ।
ज्ञापनमा घाइते व्यक्तिहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था तथा क्षतिपूर्ति प्रदान गर्न समेत माग गरिएको छ ।
विश्व हिन्दू परिषद नेपाल, हनुमान आराधना मण्डल, सनातन संस्कृती नेपाल, हिन्दू सम्राट सेना, श्री राम हनुमान आराधना नेपाल, पतंजलि योग समिति र श्री कृष्ण भक्त मंण्डलका पदाधिकारीले संयुक्त रुपमा ज्ञापन पठाएका हुन् ।