![]()
राजविराज । सामाजिक संजालले तथ्यलाई कहाँसम्म मोड्ने गर्दछ र समाजलाई दिग्भ्रमित बनाउँछ भन्ने उदाहरण सबैतिर देखिन्छ । पछिल्लो पटक सप्तरीमा पनि सामाजिक संजाल मार्फत् भ्रम फैलाउनेको संख्या बढ्दै गएको छ ।
बिहीबार दिउँसो सामाजिक संजालमा एउटा भिडियो भाइरल बन्यो, बंगलादेशी रोहिंग्या भेटियो भन्दै । भाइरल बनेको उक्त भिडियोले भ्रम छर्न खोजेको प्रष्ट देखियो । रोहिंग्या भनिएका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ ।
राजविराज नगरपालिका १२ स्थित करिमा इँटा उद्योगमा काम गर्ने मजदूरहरु देखिएको सप्तरी प्रहरी प्रबक्ता एवं डीएसपी डम्बुरबहादुर पुरीले जानकारी दिए ।
उनका अनुसार उनीहरु पश्चिम बंगालका हुन् । इँटा उद्योगमा हप्ता मनाउने दिन भएका कारण माछा, मासु किन्न बजार आएका थिए । ९ जना मजदूर राजविराज आएको बखत केही युवाले रोहिंग्या भन्दै धरपक्कड गर्दै प्रहरीको जिम्मा लगाएका थिए ।
प्रहरीले अनुसन्धान गरेपछि उनीहरु भारतीय भएको खुलेको डीएसपी पुरीले बताए । उनीहरुको भारतीय आधार कार्ड पनि भेटिएको उनले बताए ।
ती मजदूरलाई इँटा उद्योगका धनीलाई बोलाएर जिम्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।












