![]()
राजविराज । लगातारको वर्षाले डुबानमा परेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडाका विभिन्न ठाउँको लेटर डे साइन्ट च्यारिटी (एलडीएससी) का एक टोलीद्वारा स्थलगत अनुगमन गरिएको छ ।
हर्ड नेपालको समन्वयमा एलडीएससीका नेपाल निर्देशक कार्ल जोनसन र पत्नी लिन्डा जोनसनद्वारा डुबान क्षेत्रको अवलोकन गरिएको हो ।
हनुमाननगर कंकालिनी नगरपालिकाका बाढीबाट प्रभावित वडा नम्बर ५, ७, १२ र १३ को उनीहरुले स्थलगत अवलोकन गरेको हर्ड नेपालका निर्देशक राकेश यादवले जानकारी दिए ।
अवलोकनका क्रममा बाढीबाट प्रभावित परिवारहरूको अवस्था, भएको क्षति तथा उनीहरूले सामना गरिरहेका तत्कालीन समस्याहरूका बारेमा प्रत्यक्ष जानकारी लिनुका साथै राहत, पुनर्स्थापना तथा आवश्यक सहयोगका सम्भावित क्षेत्रहरूबारे स्थानीय सरोकारवालासँग छलफल गरिएको उनले बताए ।
विपद्को समयमा प्रभावित तथा जोखिममा रहेका समुदायलाई आवश्यक सहयोग पुर्याउन समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता उक्त अवसरमा उनीहरुले व्यक्त गरेको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझीले जानकारी दिए ।






